जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति
काठमाडौं — नेता हृदयेश त्रिपाठी ले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकीकरणप्रति दुई बुँदे असहमति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको बताएका हुन्। नेपालजस्तो विविधतायुक्त देशका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको उनको भनाइ छ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अल्पसंख्यक समुदायका लागि घातक हुन सक्ने दाबी गर्दै सैद्धान्तिक स्पष्टताविना गरिएको राजनीतिक एकता आत्मघाती बन्न सक्ने चेतावनी दिएका छन्।
त्रिपाठीले आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी र तमलोपाको प्रयासपछि लोसपासँग एकीकरण भएको उल्लेख गर्दै जसपा–लोसपा एकीकरणबारे आफूहरूलाई पूर्वजानकारी नदिइएको आरोप पनि लगाएका छन्।