सपना प्रधान मल्ल २० दिन बिदामा, सर्वोच्चमा नेतृत्व परिवर्तनपछि असन्तुष्टि चर्चा
काठमाडौँ — सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्। प्रधानन्यायाधीश नियुक्तिसँगै भएको नेतृत्व परिवर्तनपछि उनी बिदामा बसेको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार मल्ल हाल २० दिनको बिदामा रहेकी छन्।
यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्।
तर संवैधानिक परिषदको सिफारिसमा डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि नेतृत्व परिवर्तन भएको हो। उनी मल्लभन्दा जुनियर भए पनि नियुक्त भएपछि मल्ल असन्तुष्ट रहेको चर्चा छ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्। शपथ ग्रहण समारोहमा मल्ल उपस्थित नभएको पनि बताइएको छ।