नेपाल महिला क्रिकेट टोलीको रोमाञ्चक जित, मलेसियालाई २ विकेटले पराजित
नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले एसियाली महिला छनोटको तयारीस्वरूप मलेसियासँग भएको पहिलो टी–२० अभ्यास खेलमा रोमाञ्चक जित दर्ता गरेको छ। मलेसियाको बायुमास मैदानमा भएको खेलमा नेपालले ६८ रनको लक्ष्य १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्दै २ विकेटको जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा मात्र ६७ रनमा अलआउट भयो। नेपाली बलरहरूको सशक्त प्रदर्शनका कारण मलेसियाका ब्याटरहरू टिक्न सकेनन् र न्यून स्कोरमै सीमित भए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। पूजा महतोले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिइन्। त्यसैगरी मनिषा उपाध्यायले ४ ओभरमा १७ रन दिएर २ विकेट हात पारिन्। रिया शर्माले २.५ ओभरमा १३ रन दिएर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले समान १–१ विकेट लिए।
मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् भने अन्य ब्याटरहरू नेपाली बलिङ आक्रमणसामु निरिह देखिए।
जवाफी ब्याटिङमा नेपालका लागि सम्झना खड्काले ३९ बलमा ३२ रनको महत्वपूर्ण इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्याइन्। रुबी पोदारले २२ बलमा १५ रनको योगदान दिइन्।
नेपालले ६८ रनको लक्ष्य १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्दै सिरिजमा आत्मविश्वासपूर्ण सुरुआत गरेको छ।