हुम्लाको चङ्खेलीमा पहिरोले विद्यालय भवन र गोठमा क्षति, भेडाबाख्रा पुरिए
हुम्ला — हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले स्थानीय बस्तीमा ठूलो क्षति पुर्याएको छ। पहिरोले आधारभूत विद्यालय भवनसहित खेतीयोग्य जमिन र गोठहरूमा समेत असर गरेको छ।
स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार एक्कासी परेको असिनापानीपछि आएको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको हो। साथै वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरिएको छ, जहाँ रहेका भेडाबाख्रामा समेत क्षति पुगेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले क्षतिको विस्तृत विवरण अझै यकिन नभएको जानकारी दिएका छन्। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
भौगोलिक रूपमा विकट रहेको उक्त क्षेत्रमा सदरमुकाम सिमकोटदेखि करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा विवरण संकलनमा समय लाग्ने देखिएको छ।
पहिरोले प्रभावित क्षेत्रमा रहेका तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ जोखिममा रहेको स्थानीयले बताएका छन्।