मीन बहादुर गुरुङद्वारा किओच बाल अस्पताललाई ७१ करोडभन्दा बढी सहयोग
काठमाडौँ — भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
गुरुङले अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको अस्पतालले जनाएको छ। भवन निर्माण सम्पन्न हुने चरणमा पुगेको छ र जेठ ९ गते उद्घाटन तथा हस्तान्तरण कार्यक्रम हुने तयारी छ।
अस्पतालका अनुसार अत्याधुनिक संरचना निर्माण भए पनि बालबालिकाको उपचारका लागि आवश्यक एमआरआई र सिटी स्क्यान मेसिनको अभावका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
त्यसैगरी, एमआरआई र सिटी स्क्यान मेसिन खरिद अभियानका लागि हालसम्म २ करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा देशका सातै प्रदेशमा सात वटा बाल अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ। यस परियोजनाले जटिल रोगबाट पीडित बालबालिकालाई स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनका अनुसार गुरुङको सहयोगले नेपालमा विशेषज्ञ बाल स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ।