हुम्लाको चंखेलीमा भीषण असिनापानीपछि पहिरो
हुम्ला — हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले स्थानीय बस्तीमा ठूलो क्षति पुर्याएको छ। पहिरोले घर–गोठ बगाउनुका साथै भेडाबाख्रा पुरिएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार मंगलबार राति परेको हावाहुरीसहितको असिनापानीपछि बाढी आएको थियो। जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णु श्रेष्ठले बताएअनुसार बाढीका कारण स्थानीयका घर र गोठ बगेका छन् भने पशुधनमा समेत क्षति भएको छ। तर मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।
भौगोलिक रूपमा विकट क्षेत्र भएकाले नजिकको प्रहरी चौकीबाट घटनास्थल पुग्न झण्डै सात घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ, जसका कारण सुरक्षाकर्मी तत्काल घटनास्थल पुग्न सकेका छैनन्।
असिनापानीपछि भिरालो, नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको बताइएको छ। सुरक्षाकर्मी घटनास्थलमा पुगेर प्रारम्भिक विवरण संकलन गरेपछि मात्रै क्षतिको यकिन विवरण आउने प्रहरीले जनाएको छ।