चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित
चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् ।मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतले पछि पारे । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए ।
दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन् । गजुरेलले ९५ मत र वलीले ७१ मत प्राप्त गरे ।
महासचिव पदमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । त्यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवारहरू अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा भने जनक खड्का निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्षमा उत्सव केसी ६७ मतका साथ विजयी भए ।
समाजको सदस्य पदका लागि लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिले नेपाली चलचित्र निर्देशकहरूको हकहित र चलचित्र क्षेत्रको व्यावसायिक विकासका लागि काम गर्ने अपेक्षा गरिएको छ ।