विश्वकप लिग–२ मा अमेरिका र स्कटल्यान्डबीच आज निर्णायक भिडन्त
काठमाडौँ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार शीर्ष स्थानमा रहेका अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ।
३१ खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ भने २६ खेलबाट ३६ अंकसहित अमेरिका दोस्रो स्थानमा रहेको छ। दुवै टोली उपाधि होडमा रहेकाले आजको खेललाई अत्यन्त महत्वपूर्ण मानिएको छ।
स्कटल्यान्डले यो खेल जितेमा शीर्ष चारमा स्थान अझ मजबुत हुनेछ, जसले तल्लो स्थानमा रहेका नेपाल, क्यानडा, नामिबिया र यूएई जस्ता टोलीलाई केही राहत मिल्ने सम्भावना पनि रहनेछ। स्कटल्यान्डले लिग–२ मा अब पाँच खेल मात्र खेल्न बाँकी छ भने अमेरिकाले अझै १० खेल खेल्न बाँकी छ।
नेपाल भने हाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा रहेको छ। नेपालले आगामी खेलमा शुक्रबार सोही मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा लगातार जित निकाल्दै नेपालले आफ्नो अंकस्थिति सुधार गर्ने लक्ष्य राखेको छ।