पुटिन चीन पुगे, सी चिनफिङसँग व्यापक वार्ता हुँदै
बेइजिङ — रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। मंगलबार बेइजिङ पुगेका पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार उच्चस्तरीय भेटवार्ता हुने भएको छ।
राष्ट्रपति सीको निमन्त्रणामा भएको यो भ्रमणमा पुटिन र सीबीच सन् २०२६ को पहिलो प्रत्यक्ष भेटवार्ता हुनेछ। भ्रमण रूस–चीनबीचको ‘सद्भावना र मैत्रीपूर्ण सहकार्य सन्धि’ को २५औँ वार्षिकोत्सव तथा २१औँ शताब्दीका लागि रणनीतिक साझेदारी स्थापना भएको ३० वर्ष पुगेको अवसरमा भएको हो।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विस्तृत छलफल हुने रूसी समाचार संस्था तासले जनाएको छ। भ्रमणका क्रममा करिब ४० वटा अन्तरसरकारी, अन्तरविभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर हुने तयारी छ, जसमा २१ वटा सम्झौतामा दुवै राष्ट्रपतिका उपस्थितिमा हस्ताक्षर हुने बताइएको छ।
दुवै देशले ‘समग्र साझेदारी र रणनीतिक सहकार्य’ थप सुदृढ गर्ने विषयमा संयुक्त वक्तव्य पनि जारी गर्नेछन्। साथै सन् २०२६–२०२७ लाई अन्तरसांस्कृतिक शिक्षा वर्षका रूपमा घोषणा गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका क्रममा पुटिनले सन् २००० मा बाल्यकालमा भेट भएका चिनियाँ इन्जिनियर पेंग पाईसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै उनले चिनियाँ प्रधानमन्त्री ली च्याङसँग छुट्टै भेटवार्ता गर्नेछन्।
भ्रमणको अन्त्यमा पुटिन र सीबीच सीमित प्रतिनिधिमण्डलसहित अन्तिम चरणको वार्ता हुने कार्यक्रम तय भएको छ।