कांग्रेस प्रतिष्ठानद्वारा १२ उपसमिति गठन, नीतिगत सुधार र सामाजिक मुद्दामा केन्द्रित
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्ने उद्देश्यसहित १२ वटा उपसमिति गठन गरेको छ।
प्रतिष्ठानका प्रमुख तथा उपसभापति विश्वप्रकाश शर्माले आज विभिन्न क्षेत्रलाई लक्षित गर्दै उपसमितिहरू गठन गरेका हुन्। उनका अनुसार भूमि व्यवस्था विशेष अभियान उपसमितिको जिम्मेवारी डा. गोपाल दहितलाई दिइएको छ। सो उपसमितिले सुकुमबासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानमा काम गर्नेछ।
त्यस्तै, विपद् व्यवस्थापन उपसमितिको नेतृत्व मानबहादुर थापाले गर्नेछन्, जसले पूर्वतयारी, उद्धार र पुनर्स्थापनाका विषयमा काम गर्नेछ। मानसिक स्वास्थ्य सचेतना उपसमितिको जिम्मेवारी मोहना अन्सारीलाई दिइएको छ।
सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा इ. दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा इ. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा तथा शिक्षालय नीति उपसमितिमा डा. कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिको नेतृत्व प्रकाश लामिछानेले गर्नेछन्। जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
यसैबीच, पार्टीको आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।