परराष्ट्र मन्त्रालयले १७ देशका लागि खुला प्रतिस्पर्धाबाट राजदूत आवेदन आह्वान
परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै डेढ दर्जन मुलुकमा रिक्त रहेका राजदूत पदका लागि खुला प्रतिस्पर्धात्मक आवेदन आह्वान गर्दै १५ वटा न्यूनतम मापदण्ड सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको मापदण्ड अनुसार कुनै पनि देशको स्थायी वा अस्थायी बसोबास अनुमति (पीआर) लिएको व्यक्ति राजदूतका लागि अयोग्य हुनेछ। त्यस्तै हाल विदेशी सहयोगमा सञ्चालित गैर–सरकारी संस्थामा कार्यरत व्यक्ति पनि आवेदन दिन पाउने छैनन्।
भ्रष्टाचार, नैतिक पतन वा कालोसूचीमा परेका व्यक्तिहरूलाई पनि आवेदन दिन निषेध गरिएको छ। साथै, पहिले विदेशी सरकारको तलब खाने पदमा काम गरेको भए कम्तीमा १० वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गरिएको छ।
अन्य मापदण्डमा कम्तीमा स्नातक तह उत्तीर्ण, ३५ वर्ष उमेर पूरा भएको, कूटनीति वा अन्तर्राष्ट्रिय सम्बन्धमा अनुभव, अंग्रेजी भाषामा दक्षता, उच्च नैतिक चरित्र तथा सम्बन्धित देशबारे ज्ञान आवश्यक हुने उल्लेख छ।
सरकारले यस प्रक्रियालाई पहिलो पटक खुला प्रतिस्पर्धामार्फत अघि बढाएको हो। यसअघि पूर्ववर्ती सरकारहरूबाट नियुक्त भएका राजदूत फिर्ता बोलाइएपछि भारत, अमेरिका, चीन, जापान, बेलायत, अस्ट्रेलिया लगायत १७ देशका कूटनीतिक नियोग रिक्त छन्।
मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम मिति जेठ २२ (जुन ५) साँझ ५ बजेसम्म तोकिएको छ।
छनोट प्रक्रिया प्रारम्भिक रूपमा परराष्ट्र मन्त्रालयले गर्ने, त्यसपछि मन्त्रिपरिषद्, संसदीय सुनुवाइ समिति र सम्बन्धित देशबाट ‘एग्रिमो’ प्राप्त भएपछि मात्र अन्तिम नियुक्ति हुनेछ।
राजदूतको कार्यकाल चार वर्षको हुनेछ भने सरकारले आवश्यक परेमा कार्यकालअघि नै फिर्ता बोलाउन सक्ने व्यवस्था पनि रहनेछ।