टेनेरिफनजिक रोकिएको ‘एमएस होन्डियस’ क्रुजबाट यात्रुहरूको उद्धार सुरु
स्पेनले टेनेरिफ नजिक रोकिएको हान्टाभाइरस संक्रमित क्रुज जहाज ‘एमएस होन्डियस’का यात्रुहरूको उद्धार कार्य सुरु गरेको छ।
स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाका अनुसार उद्धार प्रक्रिया सामान्य रूपमा अघि बढिरहेको छ र हालसम्म जहाजमा रहेका कुनै पनि यात्रुमा संक्रमणका लक्षण देखिएका छैनन्।
प्रारम्भिक चरणमा यात्रुहरूलाई साना डुंगामार्फत किनारामा ल्याइएको थियो। उनीहरूले सेतो मेडिकल मास्क लगाएका थिए भने किनारामा सेतो सुरक्षात्मक पोसाकमा रहेका स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए।
अधिकारीहरूले यात्रुहरूलाई राष्ट्रियताका आधारमा समूहमा विभाजन गरी क्रमशः उद्धार गरिरहेको जनाएका छन्। किनारामा ल्याइएपछि उनीहरूलाई बसमार्फत स्थानीय विमानस्थल पुर्याइने र त्यहाँबाट चार्टर विमानमार्फत आ–आफ्नो देश पठाइने व्यवस्था गरिएको छ।
पहिलो चरणमा १४ जना स्पेनी नागरिकलाई उद्धार गरिनेछ। त्यसपछि नेदरल्यान्ड्सको व्यवस्थापनमा डच, ग्रीक र जर्मन यात्रु तथा केही चालक दलका सदस्यलाई पठाइने योजना छ।
यसपछि बेलायत, अमेरिका लगायत अन्य देशका यात्रुहरूको उद्धार गरिनेछ। अन्तिम चरणको उडान सोमबार अस्ट्रेलियातर्फ हुने अपेक्षा गरिएको छ।