सी चिनफिङद्वारा ट्रम्पलाई चिनियाँ गुलाफको बीउ उपहार दिने घोषणा
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपहारस्वरूप चिनियाँ गुलाफको बीउ पठाउने घोषणा गरेका छन्।
ट्रम्पको सम्मानमा आयोजित दिवाभोज तथा छलफलका क्रममा राष्ट्रपति सीले चीनको प्रमुख प्रशासनिक क्षेत्र ‘झोङ्नान्हाई कम्पाउन्ड’ मा उनलाई स्वागत गर्दै यसको ऐतिहासिक महत्त्वबारे जानकारी गराएका थिए।
भ्रमणका क्रममा सीले ४९० वर्ष पुरानो रुख देखाउँदै बगैँचामा फुलेका गुलाफका बीउ उपहारस्वरूप पठाउने बताएका थिए। ट्रम्पले उक्त प्रस्तावप्रति खुसी व्यक्त गर्दै यसलाई “उत्कृष्ट विचार” भनेका थिए।
यसैबीच, संयुक्त सम्बोधनमा राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध ‘रचनात्मक’ र ‘नयाँ उचाइ’ मा पुगेको उल्लेख गर्दै यसलाई ऐतिहासिक कोसेढुङ्गा बताएका छन्।
बीबीसीका अनुसार वार्ताका क्रममा अनुवाद भइरहेको बेला पत्रकारहरूलाई हलबाट बाहिर निकालिएको र त्यसपछि प्रत्यक्ष प्रसारण पनि बन्द गरिएको थियो। वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।