फुजैराह तेल क्षेत्रमा आगलागीपछि इरान–अमेरिका तनाव बढ्यो, भारतको निन्दा
फुजैराह पोर्टस्थित तेल क्षेत्रमा भएको भीषण आगलागी घटनालाई लिएर इरानले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार एक सैन्य अधिकारीले उक्त क्षेत्रमा कुनै आक्रमणको योजना नभएको भन्दै होर्मुज क्षेत्रमा अमेरिकी गतिविधिका कारण स्थिति बिग्रिएको दाबी गरेका छन्।
अधिकारीले अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत जहाज आवागमन सुचारु गर्ने प्रयास गर्दा क्षेत्रीय तनाव बढेको र यसमा अमेरिकी सेना जिम्मेवार रहेको आरोप लगाएका छन्।
यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्गमा आफ्नो अनुमति बिना कुनै पनि जहाजलाई प्रवेश गर्न नदिने चेतावनी दिएको छ। इरानले उक्त क्षेत्रमा नियन्त्रण कायम रहेको दाबी गर्दै नियम पालना गर्ने जहाजलाई मात्र आवागमन अनुमति दिने जनाएको छ।
इधर, इरानी नौसेनाले अमेरिकी युद्धपोत नजिकिँदा मिसाइल र ड्रोन प्रयोग गरिएको दाबी पनि गरेको छ, यद्यपि स्वतन्त्र रूपमा यसको पुष्टि भएको छैन।
यूएईमा भएको आक्रमणप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा निन्दा गरेका छन्। घटनामा तीन भारतीय नागरिक घाइते भएको जनाइएको छ। मोदीले सर्वसाधारण र पूर्वाधारमाथिको आक्रमण अस्वीकार्य भएको बताउँदै भारत यूएईसँग दृढ रूपमा उभिएको उल्लेख गरेका छन्।
उनले होर्मुज जलमार्गमा अवरोधरहित आवागमन सुनिश्चित हुनुपर्नेमा जोड दिँदै यसले क्षेत्रीय शान्ति र विश्व ऊर्जा सुरक्षामा असर पार्ने चेतावनी दिएका छन्।