फिलिपिन्सको मेयन ज्वालामुखीबाट खरानी झर्दा ३०० भन्दा बढी परिवार विस्थापित
फिलिपिन्सको सक्रिय मेयन ज्वालामुखीबाट एक्कासि ठूलो मात्रामा खरानी खस्दा जनजीवन प्रभावित भएको छ। घटनापछि आसपासका क्षेत्रबाट ३०० भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार ज्वालामुखीको ढलानमा जम्मा भएको लावा अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो, जसले तातो चट्टान, खरानी र ग्याससहित तलतिर तीव्र रूपमा फैलिएको थियो।
यद्यपि ठूलो विस्फोट नभएको र कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ, तर तीन सहरका ८७ गाउँमा बाक्लो खरानी फैलिँदा दृश्यता अत्यन्त कमजोर बनेको र यातायात प्रभावित भएको बताइएको छ।
स्थानीय प्रशासनका अनुसार कृषि क्षेत्रसमेत प्रभावित भएको छ भने केही पशुहरूको मृत्यु भएको छ। हाल प्रभावित क्षेत्रमा सरसफाइ र पुनःस्थापनाको काम भइरहेको छ।
समुद्र सतहदेखि २,४६२ मिटर उचाइमा रहेको मेयन ज्वालामुखी फिलिपिन्सका सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक हो र यसलाई निरन्तर निगरानीमा राखिएको अधिकारीहरूले जनाएका छन्।