संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने सरकारको घोषणा
काठमाडौं — सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधनसम्बन्धी बहस पत्र (डिस्कसन पेपर) तयार गर्ने घोषणा गरेको छ।
रामचन्द्र पौडेल ले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संविधान संशोधनलाई साझा सहमतिबाट अघि बढाइने बताएका हुन्।
उनले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग विस्तृत संवाद गर्ने र त्यसकै आधारमा संविधान संशोधनका साझा विषयहरू पहिचान गरिने उल्लेख गरे।
“सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ,” राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा भने।
सरकारले तयार गर्ने भनिएको बहस पत्रले संविधानका विवादित र सुधार आवश्यक विषयहरूलाई सूचीबद्ध गर्दै आगामी संशोधन प्रक्रियाका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।
हाल संसदमा राष्ट्रपतिको नीति तथा कार्यक्रममाथि छलफल जारी छ।