होर्मुज जलडमरूमा फ्रान्सेली जहाजमाथि आक्रमण, चालक दल घाइते
मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरू हुँदै गुज्रिरहेको फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण भएको छ।
अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार फ्रान्सको शिपिङ कम्पनी सीएमए सीजीएमले ‘सान एन्तोनियो’ नामक आफ्नो जहाज मंगलबार मिसाइल वा ड्रोनबाट आक्रमणमा परेको पुष्टि गरेको हो। आक्रमणबाट जहाजमा क्षति पुगेको छ भने केही चालक दलका सदस्य घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचार सुरु गरिएको कम्पनीले जनाएको छ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय तनाव चुलिँदै जाँदा समुद्री मार्गमा जोखिम बढेको देखिएको छ। बेलायतको समुद्री सुरक्षा एजेन्सीका अनुसार पछिल्ला महिनाहरूमा फारस खाडी, ओमान खाडी र होर्मुज क्षेत्रमा जहाजमाथि आक्रमणका घटना उल्लेख्य रूपमा बढेका छन्।