युद्धका क्रममा पाकिस्तानलाई चीनको प्रत्यक्ष सहयोग भएको खुलासा
काठमाडौं — गत वर्ष काश्मिर क्षेत्रमा भारत–पाकिस्तानबीच भएको सैन्य झडपका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ एभिएसन इन्डस्ट्री कर्पोरेसन अन्तर्गतका इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान सञ्चालनमा सहयोग गरेका थिए। ती इन्जिनियरहरूले युद्धकै बीचमा उपकरणहरूको निरन्तर सञ्चालन सुनिश्चित गर्न फिल्डमै खटिएको बताएका छन्।
सो संघर्षमा चीनमा निर्मित जे–१० सीई लडाकू विमान र पिएल–१५ मिसाइल प्रयोग भएको दाबी गरिएको छ। पाकिस्तानले भारतीय रफालसहित पाँच वटा लडाकू विमान खसालेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन।
युद्धका क्रममा चिनियाँ र फ्रान्सेली तथा रूसी निर्मित हतियारबीचको क्षमताबारे पनि अन्तर्राष्ट्रिय बहस सुरु भएको छ। भारतले भने आफ्ना विमान खसालेको विषयमा औपचारिक विवरण सार्वजनिक गरेको छैन।