ट्रम्पद्वारा इरानको युद्ध अन्त्य प्रस्ताव अस्वीकार, वार्ता प्रक्रियामा अनिश्चितता बढ्यो
वासिङ्टन/तेहरान — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले युद्ध अन्त्य र आणविक कार्यक्रमबारे पठाएको पछिल्लो प्रस्ताव अस्वीकार गरेका छन्। दुवै देशबीच तनाव कम गर्ने उद्देश्यले अघि सारिएको कूटनीतिक पहलमा पुनः अवरोध उत्पन्न भएको छ।
अमेरिकाले युद्ध अन्त्य, प्रतिबन्ध फुकुवा र आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी १४ बुँदे मस्यौदा सम्झौता पठाएको थियो। त्यसको जवाफमा इरान ले आफ्नै प्रस्ताव पठाएको बताइए पनि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै “मलाई यो मन परेन” भनेका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानका प्रतिनिधिबाट आएको प्रतिक्रिया स्वीकार्य नभएको टिप्पणी गरेका छन्। तर उनले इरानको प्रस्तावको कुन बुँदा अस्वीकार्य भयो भन्ने स्पष्ट पारेका छैनन्।
अमेरिकी प्रस्तावमा ३० दिनको विस्तृत वार्ता सुरु गर्ने, स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र क्रमशः प्रतिबन्ध हटाउने योजना समावेश गरिएको थियो। उक्त अवधिमा समुद्री मार्गमा लगाइएका अवरोध र नाकाबन्दी हटाउने विषय पनि समेटिएको थियो।
वार्तामा मुख्य विवादको विषय भने इरानको आणविक कार्यक्रम नै रहेको बताइएको छ। युरेनियम प्रशोधन रोक्ने अवधि, अन्तर्राष्ट्रिय निरीक्षणको पहुँच र प्रतिबन्ध फुकुवाको समयतालिकामा दुवै पक्षबीच मतभेद देखिएको छ।
अमेरिकाले लामो अवधिका लागि युरेनियम प्रशोधन रोक्नुपर्ने अडान राखेको छ भने इरानले सीमित अवधिका लागि मात्र सहमति जनाउने संकेत गरेको छ। त्यसैगरी, इरानले सम्झौता लागू हुनेबित्तिकै प्रतिबन्ध हटाउनुपर्ने र रोक्का सम्पत्ति फुकुवा हुनुपर्ने माग गरेको छ।
तर अमेरिकी पक्षले भने इरानले सर्तहरू पूर्ण रूपमा पालना गरेपछि मात्र क्रमशः प्रतिबन्ध हटाइने स्पष्ट पारेको छ।
विश्लेषकहरूका अनुसार पछिल्लो असहमति पछि दुई देशबीचको वार्ता प्रक्रिया फेरि अनिश्चित बनेको छ र मध्यपूर्वमा तनाव घटाउने प्रयासमा थप जटिलता देखिएको छ।