स्ट्रेट अफ हर्मुजमा जहाजमा आगलागी, एक भारतीयको मृत्यु
स्ट्रेट अफ हर्मुज नजिक समुद्रमा भारतीय मालवाहक जहाजमा आगलागी हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुबईस्थित भारतीय महावाणिज्य दूतावासले काठबाट निर्मित भारतीय ‘डो’ जहाजमा आगलागी भएको पुष्टि गर्दै घटनामा चालक दलका एक सदस्यको ज्यान गएको जनाएको हो।
घटनामा अन्य चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने व्यक्ति गुजरातका हुन्। अज्ञात वस्तु प्रहार भएपछि जहाजमा आगलागी भएको बताइएको छ।
घाइतेहरूको सोही मार्ग हुँदै गइरहेको अर्को जहाजले उद्धार गरेको थियो। उद्धार गरिएका भारतीय नागरिकहरूसँग भारतीय नियोगका अधिकारीहरूले भेट गरी अवस्थाबारे जानकारी लिएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
भारतीय नियोगले जहाज कम्पनीसँग निरन्तर सम्पर्कमा रही घटनाको थप विवरण संकलन गरिरहेको र पीडितलाई आवश्यक सहयोग उपलब्ध गराइने जनाएको छ।