क्यानडामा हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण, क्रुज यात्रु आइसोलेसनमा
काठमाडौँ — क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (PHAC) ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ। सङ्क्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन्।
PHAC का अनुसार ब्रिटिश कोलम्बियाबाट संकलित नमूनाहरू पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो। शनिबार गरिएको परीक्षणपछि एक व्यक्तिमा हान्ताभाइरस सङ्क्रमण पुष्टि भएको हो।
एजेन्सीले उक्त यात्रुसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण भने नेगेटिभ आएको जनाएको छ। हालसम्म थप सङ्क्रमित फेला नपरेको र उच्च जोखिममा रहेका सम्पर्कहरू आइसोलेसनमा राखी निगरानी भइरहेको बताइएको छ।
PHAC ले हालका लागि क्यानडाको सर्वसाधारणमा सङ्क्रमणको जोखिम कम रहेको स्पष्ट पारेको छ। यो सङ्क्रमण ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजसँग सम्बन्धित भएको बताइएको छ, जसमा यसअघि नै तीन जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हान्ताभाइरसको इन्क्युबेशन अवधि सामान्यतया १ देखि ८ सातासम्म हुन्छ। यो भाइरस प्रायः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्यालमार्फत मानिसमा सर्ने गर्दछ।
हान्ताभाइरस सङ्क्रमणले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखाउन सक्छ। गम्भीर अवस्थामा यसले फोक्सो र मुटुमा असर पुर्याएर ज्यानसमेत लिन सक्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्।