वैकल्पिक राजनीतिक शक्तिको अभियान तीव्र, चितवनमा युवा सञ्जाल गठन
युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने उद्देश्यसहित मिरज ढुंगानाको नेतृत्वमा देशव्यापी युवा सञ्जाल गठन अभियान तीव्र रूपमा अघि बढिरहेको छ।
युवा केन्द्रित राजनीतिक अभियानअन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको अभियन्ताहरूले बताएका छन्।
अभियानका अनुसार वर्तमान अवस्थामा युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरी देश निर्माणमा केन्द्रित गर्नु अपरिहार्य रहेको उल्लेख गरिएको छ। सोही उद्देश्यअनुसार विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडको कार्यलाई तीव्रता दिइएको जनाइएको छ।
यसैक्रममा चितवन अध्यायको जिम्मेवारीसमेत औपचारिक रूपमा घोषणा गरिएको छ। चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन बिशु गुरुङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने विकल घताने र यान्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ।
अभियानले आगामी दिनमा देशभरका युवालाई समेट्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।