अमेरिकाले क्युबामाथि तत्काल सैन्य कारबाही नगर्ने
संयुक्त राज्य अमेरिकाले हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारी नरहेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार क्युबा सरकारसँग प्रारम्भिक चरणको कूटनीतिक छलफल जारी रहेको छ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा क्युबालाई लक्षित गर्दै कडा चेतावनी दिँदै आएका छन्। उनले हालै ‘क्युबा अर्को लक्ष्य हुन सक्छ’ भन्दै आवश्यक परे मध्यपूर्वमा तैनाथ अमेरिकी नौसैनिक जहाजहरू क्युबातर्फ फर्किन सक्ने संकेत गरेका थिए।
अमेरिकी पक्षले क्युबालाई मानवीय सहायता, दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा (स्टारलिङ्क), कृषि सहयोग तथा पूर्वाधार विकास सहायता जस्ता प्रस्तावहरू दिएको बताइएको छ। तर ती प्रस्ताव कडा सर्तसहित भएकाले क्युबा सरकारले स्वीकार गर्ने सम्भावना कम रहेको अधिकारीहरूको भनाइ छ।
यसैबीच अमेरिका सरकारले क्युबामाथि नयाँ आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। विशेषगरी क्युबाली सेनाद्वारा सञ्चालित एक ठूलो व्यापारिक समूहमाथि कडा प्रतिबन्ध लगाइएको जनाइएको छ।
अमेरिकी अधिकारीहरूले कूटनीतिक ढोका खुला रहेको बताए पनि राष्ट्रपति ट्रम्पले सैन्य विकल्प पूर्ण रूपमा नहटाइएको संकेत दिएका छन्। यस घटनाक्रमले अमेरिका–क्युबा सम्बन्ध पुनः तनावपूर्ण बन्न सक्ने देखिएको छ।