राष्ट्रिय पत्रकारिता दिवस आज मनाइँदै
काठमाडौँ — राष्ट्रिय पत्रकारिता दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। १९५८ साल वैशाख २४ गते पहिलो अखबारका रूपमा प्रकाशित ‘गोर्खापत्र’ साप्ताहिकको प्रकाशन सुरु भएको दिनको स्मरणमा २०७३ सालदेखि सरकारले हरेक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको हो।
पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व तथा पेसागत एवं व्यावसायिक सुरक्षाको सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गर्दै राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ।
दिवसका अवसरमा ‘गोरखापत्र’ दैनिकले आफ्नो १२६औँ वर्ष प्रवेशसँगै विशेषाङ्क प्रकाशन गरेको छ। “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः...” भन्ने आदर्श वाक्यसहित गोरखापत्र निरन्तर प्रकाशन हुँदै आएको छ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसहितले शुभकामना सन्देश दिएका छन्।