स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु
स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक जना भारतीय नागरिकको ज्यान गएको छ । दुबईमा रहेको भारतीय महावाणिज्य दूतावासले स्ट्रेट अफ हर्मुज नजिकै समुद्रमा काठबाट निर्मित भारतीय मालवाहक जहाज (डो) मा आगलागी भएका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
उक्त घटनामा परेर चालक दलका एक भारतीय सदस्यको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको जनाइएको छ । मारिने भारतीय गुजरातको रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अज्ञात वस्तु प्रहार भएपछि डोमा आगलागी भएको हो । घटनामा घाइते भएका अन्यलाई सोही मार्ग भएर गइरहेको अर्को एउटा जहाजले उद्धार गरेको थियो ।
नियोगका अधिकारीहरूले उद्धार गरिएका भारतीय नागरिकहरूसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूको हाल स्वास्थ्योपचार भइरहेको छ ।
भारतीय नियोगले जहाज कम्पनीसँग निरन्तर सम्पर्कमा रही घटनाको थप विवरण संकलन गरिरहेको र पीडितहरूलाई आवश्यक सबै प्रकारका सहयोग प्राथमिकताका साथ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।