नूर खान एयरबेसमा इरानी विमानबारे सैन्य दाबी अस्वीकार, पाकिस्तानको स्पष्टोक्ति
इस्लामाबाद — पाकिस्तानी सरकारले नूर खान एयरबेस मा इरानी विमान सैन्य उद्देश्यका लागि उपस्थित रहेको भन्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई खण्डन गरेको छ।
विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा ती विमानहरू पूर्ण रूपमा कूटनीतिक प्रयोजनका लागि पाकिस्तान आएको स्पष्ट पारिएको छ। मन्त्रालयका अनुसार युद्धविरामपछि र इस्लामाबादमा जारी प्रारम्भिक वार्ता प्रक्रियाका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली तथा वार्ता व्यवस्थापनसँग सम्बन्धित प्रशासनिक कर्मचारीहरूलाई ओसारपसार गर्न ती विमानहरू प्रयोग गरिएको हो।
वक्तव्यमा भनिएको छ, “केही विमान र सहयोगीहरू अस्थायी रूपमा पाकिस्तानमा रहेका छन्, तर ती पूर्ण रूपमा कूटनीतिक उद्देश्यका लागि आएका हुन्।”
मन्त्रालयले थप स्पष्ट गर्दै औपचारिक वार्ता रोकिए पनि सम्बन्धित पक्षहरूबीच कूटनीतिक आदान–प्रदान जारी रहेको जनाएको छ। साथै नूर खान एयरबेसमा रहेका केही विमानहरू इरानी विदेशमन्त्रीको भ्रमणका क्रममा रणनीतिक व्यवस्थालाई सहज बनाउन तैनाथ गरिएको पनि उल्लेख गरिएको छ।
पाकिस्तानले ती विमानहरू कुनै पनि प्रकारको सैन्य आकस्मिकता वा सुरक्षा योजनासँग जोडिएको भन्ने दाबीलाई “पूर्ण रूपमा काल्पनिक र तथ्यहीन” भन्दै कडा रूपमा अस्वीकार गरेको छ।
यसैबीच पाकिस्तानले क्षेत्रीय शान्ति, तनाव न्यूनीकरण र स्थिरताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै कूटनीतिक संवादलाई निरन्तर अघि बढाउने नीति स्पष्ट पारेको छ।