तमिलनाडुमा विजय नेतृत्वको सरकार गठनको बाटो खुल्यो
चेन्नई, शनिबार — तमिलनाडुमा सरकार गठनलाई लिएर जारी शक्ति सङ्घर्ष अन्ततः समाप्त भएको छ। विदुथलाई चिरुथाइगल काची (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके)का प्रमुख जोसेफ विजय अर्थात् विजय थलापतिलाई समर्थन गर्ने औपचारिक घोषणा गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
गत तीन दिनदेखि टिभिके प्रमुख विजय ११६ विधायकको समर्थनसहित सरकार गठनका लागि राजभवनमा सक्रिय रहँदै आएका थिए। बहुमतका लागि आवश्यक थप दुई विधायकको समर्थन जुटाउन नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उनलाई सरकार गठनका लागि औपचारिक निमन्त्रणा दिएका थिएनन्।
शनिबार भने भिसिकेले विजयलाई समर्थन गर्ने घोषणा गर्दै समर्थनपत्र हस्तान्तरण गरेको जनाएको छ। भिसिके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र बुझाइसकेको जानकारी दिएका छन्।
कलाकारबाट राजनीतिमा प्रवेश गरेका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन्। यससँगै टिभिकेले तमिलनाडु विधानसभामा बहुमतका लागि आवश्यक ११८ सदस्यको ‘जादुई संख्या’ पार गरेको छ।
२३४ सदस्यीय तमिलनाडु विधानसभामा टिभिकेले १०८ सिट जितेको छ। कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टी (सिपिआइ)का दुई, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का दुई तथा भिसिकेका दुई विधायकको समर्थनपछि टिभिके गठबन्धनको संख्या १२१ पुगेको छ।
यद्यपि विजय स्वयं दुई सिटबाट निर्वाचित भएकाले एक सिटको मतदान अमान्य हुने स्थिति रहनेछ। त्यसअनुसार सरकार पक्षमा प्रभावकारी समर्थन संख्या १२० रहने बताइएको छ।
यससँगै विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठन हुने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।