किसानको गुनासो उद्धृत गर्दै सांसद न्यौपानेको सरकारलाई आग्रह
१३ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद Shriram Neupane ले बाँदरको आतंकका कारण किसानहरू गम्भीर समस्यामा परेको भन्दै राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रका किसानहरूले लगातार बाँदर नियन्त्रणबारे आफूलाई गुनासो गरिरहेको जानकारी दिए। उनले एक किसानको फोन संवाद उद्धृत गर्दै भने, “माननीय ज्यू, बरु सडक र विकास ढिला होस्, तर तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो।”
उनका अनुसार यो केवल व्यक्तिगत गुनासो नभई नेपालकै कृषि, किसान र खाद्य सुरक्षामाथिको गम्भीर चुनौती हो।
सांसद न्यौपानेले बाँदरको कारण कतिपय किसानहरू बसाइँ सर्न बाध्य भएको पनि बताए। उनले समस्या समाधानका लागि डमी बाँदर राख्ने, जनचेतना अभिवृद्धि गर्ने लगायतका उपाय अपनाउन सकिने सुझाव दिए।
उनले सरकारलाई तत्काल प्रभावकारी नीति र कार्यक्रम ल्याएर किसानको बाली जोगाउन आग्रह समेत गरेका छन्।