अमेरिका–इरानबीच ६० दिनको युद्धविराम विस्तारसहित ठूलो सम्झौता नजिक
अमेरिका र इरानबीच एक महत्वपूर्ण कूटनीतिक सम्झौता नजिक पुगेको देखिएको छ। एक्सियोस को रिपोर्टअनुसार दुवै देश ६० दिन लामो युद्धविराम विस्तार गर्ने समझदारीमा पुग्न सक्ने अवस्थामा छन्। प्रस्तावित योजनाले मध्यपूर्वको सुरक्षा, ऊर्जा व्यापार र आणविक कार्यक्रमसँग सम्बन्धित संवेदनशील विषयहरू समेट्ने बताइएको छ।
सम्झौता अन्तर्गत रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरु (Strait of Hormuz) पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषय समावेश छ। यसले अन्तर्राष्ट्रिय जहाज आवागमन सामान्य बनाउने अपेक्षा गरिएको छ। साथै, इरानले उक्त क्षेत्रमा राखिएका बारुदी सुरुङहरू हटाउन सहमत हुन सक्ने उल्लेख छ।
यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका केही बन्दरगाह तथा आर्थिक प्रतिबन्धहरू खुकुलो पार्ने र सीमित रूपमा तेल निर्यात अनुमति दिने सम्भावना रहेको रिपोर्टमा जनाइएको छ।
आणविक कार्यक्रमसम्बन्धी प्रावधानहरू पनि सम्झौतामा समेटिएको बताइएको छ। इरानले कहिल्यै पनि परमाणु हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने, युरेनियम सम्वर्धन कार्यक्रमलाई सीमित गर्ने तथा उच्च सम्वर्धित युरेनियमको भण्डार हटाउने विषयमा वार्ता हुने उल्लेख छ।
यसैबीच, इजरायल र हिजबुल्लाहबीचको तनाव घटाउने विषय पनि प्रस्तावित ढाँचामा समेटिएको बताइए पनि, हिजबुल्लाहले आक्रमण गरेमा इजरायललाई जवाफी कारबाही गर्ने अधिकार रहने व्यवस्था रहने उल्लेख छ।
टर्कीका राष्ट्रपति रेचेप ताइप एर्दोगान ले सम्भावित सम्झौता कार्यान्वयनका लागि आफ्नो देश सहयोग गर्न तयार रहेको बताएका छन्। उनले अमेरिकी राष्ट्रपति तथा मध्यपूर्वका नेताहरूसँगको कुराकानीका क्रममा हर्मुज जलडमरु पुनः सञ्चालनमा आए विश्व अर्थतन्त्र र क्षेत्रीय स्थिरतामा सकारात्मक प्रभाव पर्ने बताएका छन्।
तर, प्रस्तावित सम्झौताप्रति इजरायलमा चिन्ता देखिएको छ। एक इजरायली अधिकारीलाई उद्धृत गर्दै स्थानीय मिडियाले यो समझौताले इरानलाई रणनीतिक दबाब कायम राख्ने क्षमता दिन सक्ने टिप्पणी गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भने यसलाई मुख्य रूपमा आर्थिक दृष्टिकोणबाट अघि बढाइरहेको बताइएको छ।
सम्भावित सम्झौताले लामो समयदेखि तनावग्रस्त अमेरिका–इरान सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने विश्लेषण गरिएको छ, यद्यपि यसबारे अन्तिम सहमति भने अझै औपचारिक रूपमा घोषणा भएको छैन।v