प्रतिनिधिसभामा सडक सुरक्षा, हराएको हिटीमङ्गदेखि विदेशमा अलपत्र नेपालीसम्मका विषय उठे
काठमाडौं — प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक सुरक्षा, सांस्कृतिक सम्पदाको संरक्षण, विदेशमा अलपत्र नेपालीको उद्धार तथा नागरिक सुरक्षासम्बन्धी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद ठाकुरसिंह थारु ले बर्दियाको बबई नदीस्थित लठवा मसान घाटमा दाहसंस्कार भइरहेको स्थान नजिकै डोजर चलाइएको घटनाप्रति आपत्ति जनाउँदै दाहसंस्कारस्थलको भवन भत्काउन आदेश दिने वन कर्मचारीमाथि कारबाहीको माग गरे।
सांसद गङ्गालक्ष्मी अवाले ले ललितपुरमा सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्रा सँग सम्बन्धित करिब ९० केजी तामामा सुनको जलप लगाइएको ‘हिटीमङ्ग’ हराएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
सांसद खुस्बु ओली ले नेपालबाट कुवेत पुगेकी शर्मिला दर्जी अलपत्र परेको भन्दै उनको तत्काल खोजी तथा उद्धार गर्न माग गरिन्।
त्यस्तै सांसद सुनिल केसी ले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तारका क्रममा सडकमा खाल्डा छाडिँदा दुर्घटना बढेको भन्दै सडक सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरे।
सांसद धनेन्द्र कार्की ले बालबालिकामाथि हुने दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन माग गरे।
सांसद बलावती शर्मा ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने विषय उठाइन् भने सांसद ध्रुवराज राई ले अलपत्र सडक, सवारीसाधन र यात्रु सुरक्षामा सरकारको ध्यानाकर्षण गराए।
यस्तै सांसद सुरेशकुमार चौधरी ले राप्ती सुनारी गाउँपालिका–३ मा चार जना थारु महिलामाथि भएको कुटपिट तथा लुटपाट घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्।