कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु
उत्तरी चीनको एउटा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ ।
शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो ।
विस्पोटको समयमा २ सय ४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २ सय १ जनालाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ ।
स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उदृत गर्दै सिह्न्वाले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै बेपत्ता रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।
राष्ट्रपति सि जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित ‘सबै प्रयास’ गर्न आग्रह गर्दै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ ।
उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटनाबाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
यसअघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको रिपोर्ट गरेको थियो ।