पाकिस्तानबाट फर्किरहेका अफगान शरणार्थी बोकेको ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु
अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा पाकिस्तानबाट स्वदेश फर्किरहेका अफगान शरणार्थीहरू बोकेको एउटा मालवाहक ट्रक दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेका छन् भने कम्तीमा १० जना बालबालिका ज्यान गुमाएकाहरूमा परेका छन् ।
तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिद का अनुसार दुर्घटना शनिबार बिहान लघमानको कार्घायी जिल्लास्थित सुर्खाकान चोक नजिक भएको हो । परिवारका सदस्यहरू र उनीहरूको घरायसी सामानले भरिएको ट्रक सडकबाट चिप्लिएर खाल्डोमा खसेको थियो ।
प्रान्तीय स्वास्थ्य निर्देशक अमिनुल्लाह शरीफका अनुसार चालक निदाएका कारण ट्रक नियन्त्रणबाहिर गई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई छिमेकी नान्गरहर प्रान्त का अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । दुर्घटनामा परेका परिवारहरू पूर्वी कुनार प्रान्तमा अस्थायी रूपमा बस्दै आएका थिए र राजधानी काबुल जाँदै थिए ।
तालिबान सरकारले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले प्रभावित परिवारहरूलाई ७ लाख ३० हजार अफगानी बराबरको आपत्कालीन आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ मा मात्रै ४ लाख ४७ हजारभन्दा बढी अफगान नागरिक पाकिस्तानबाट फर्किसकेका छन् । कमजोर सडक पूर्वाधार, जीर्ण सवारीसाधन र सुरक्षा मापदण्डको अभावका कारण अफगानिस्तानमा यस्ता सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।