विपी राजमार्गमा जोखिम मोलेर गाडी चलाउने चालक पक्राउ
विपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ स्थित लास्कोट–घुमाउने खण्डमा जोखिमपूर्ण रूपमा सवारी साधन अघि बढाउने माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बाढीका कारण जोखिम बढेपछि सुरक्षाकर्मीले सवारी रोक्न निर्देशन दिँदादिँदै चालकले जबरजस्ती गाडी अघि बढाएका थिए। लापरबाहीपूर्ण तरिकाले जोखिम क्षेत्रमा सवारी चलाएको भन्दै उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
यसअघि सोही क्षेत्रमा सोमबार राति फसेका ५ माइक्रोबसका ८९ यात्रुको उद्धार गरिएको थियो। बाढीले अस्थायी डाइभर्सन बगाउन थालेपछि साँझदेखि नै उक्त खण्डमा आवागमन बन्द गरिएको थियो।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।