रास्वपामा दोहोरो जिम्मेवारी बहस: सरकारमा केन्द्रित हुन नेताहरूलाई निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र पार्टी दुवैमा जिम्मेवारी सम्हालिरहेका नेताहरूको भूमिकालाई लिएर बहस सुरु भएको छ। पार्टी नेतृत्व रवि लामिछाने र सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाहले सम्हालिरहेको अवस्थामा कतिपय नेताहरूले दोहोरो जिम्मेवारी निभाइरहेका छन्।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी संसदीय दलका प्रमुख सचेतक छन् भने उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीका रूपमा कार्यरत छन्। यस्तै, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री, सोबिता गौतम कानुनमन्त्री तथा प्रतिभा रावल सामान्य प्रशासन मन्त्रालयमा छन्।
दोहोरो भूमिकाले कार्यसम्पादनमा असर पर्न सक्ने चिन्ता बढेपछि पार्टी नेतृत्वले मन्त्री र सांसदहरूलाई पार्टीभन्दा सरकारको काममा बढी ध्यान दिन निर्देशन दिएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार अहिले सरकारलाई तीन महिनासम्म परिणाममुखी काममा केन्द्रित गर्नुपर्ने नीति अपनाइएको छ। “पार्टीभन्दा सरकारको जिम्मेवारी अहिले प्राथमिकतामा छ,” उनले बताए।
तर प्रधानमन्त्री बालेन्द्र शाह पार्टी बैठकहरूमा नियमित उपस्थित नहुने विषय पनि चर्चामा छ। उनी सरकारमै केन्द्रित रहेको भन्दै सचिवालयले पार्टीको नेतृत्व सभापति रवि लामिछानेलाई नै दिएको बताएको छ।
पार्टीले आगामी महाधिवेशन, स्थानीय तहको संगठन विस्तार र उम्मेदवार छनोट प्रक्रियालाई पनि तीव्रता दिएको छ। लिडरशिप एकेडेमीमार्फत स्थानीय तहका उम्मेदवार चयन गर्ने योजना अघि सारिएको छ।
यसैबीच, रास्वपाले मन्त्री तथा नेताहरूलाई अनावश्यक कार्यक्रम, उद्घाटन र राजनीतिक प्रचारमा नजान निर्देशन दिएको छ। नेताहरूले सीमित समय मात्र कार्यकर्ता भेटघाट र निर्वाचन तयारीमा प्रयोग गर्ने नीति लिइएको छ।
पार्टीभित्र सरकार–पार्टी समन्वय र दोहोरो जिम्मेवारी व्यवस्थापनलाई लिएर अबको केही महिनालाई निर्णायक चरणका रूपमा हेरिएको छ।