भक्तपुरसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशका विभिन्न जिल्लामा पाँच जना नागरिक मृत अवस्थामा फेला परेका छन्। झापा, काभ्रे, भक्तपुर, कञ्चनपुर र मकवानपुरका छुट्टाछुट्टै स्थानमा चार पुरुष र एक महिला मृत फेला परेका हुन्।
झापाको कनकाई नगरपालिका–४ कोटीहोममा एक पुरुष मृत फेला परेका छन्। शिवसताक्षी नगरपालिका–९ संगम चोक बस्ने ५४ वर्षीय खगेन्द्र कुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका हुन्।
यस्तै काभ्रेको धुलिखेल नगरपालिका–१२ इट्टेस्थित सडक छेउको नालीमा अर्का एक पुरुषको शव भेटिएको छ। मंगलबार फेला परेका अन्दाजी ५५ वर्षीय ती पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले उनको पहिचान खुलाउने प्रयास गरिरहेको छ।
यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल गुन्सा टोलमा एक महिला मृत अवस्थामा भेटिएकी छिन्। स्थानीय खुल्ला चौरमा सोमबार ६४ वर्षीया कमला नेपाली मृत फेला परेकी हुन्। दोलखा तामाकोशी गाउँपालिका–५ सहरे घर भएकी उनी हाल भक्तपुरको थिमीमा बस्दै आएकी थिइन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलमा पनि एक पुरुषको शव भेटिएको छ। स्थानीय ४६ वर्षीय फिरू चौधरी सोमबार सोही ठाउँको एक खेतमा मृत अवस्थामा फेला परेका हुन्।
त्यस्तै मकवानपुरको बागमती गाउँपालिका–५ दोभानस्थित बागमती खोला किनारमा पनि एक जनाको शव फेला परेको छ। काभ्रे खानीखोला गाउँपालिका–७ बस्ने ४५ वर्षीय मंगल बहादुर रूम्बा सोमबार खोला किनारमा मृत अवस्थामा फेला परेका हुन्।
सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाएको छ।