इबोला प्रकोप तीव्र रूपमा फैलिँदै, डब्लुएचओले ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ घोषणा
काठमाडौँ — कङ्गो लोकतान्त्रिक गणतन्त्रमा घातक इबोला सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ।
हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढेपछि विश्व स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा पुगेको हो। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो निर्णय गरिएको बताए। यद्यपि उनले हालको अवस्थाले पूर्ण महामारीको स्तर नपुगेको स्पष्ट पारेका छन्।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ भन्दा बढी शङ्कास्पद सङ्क्रमणका घटना दर्ता भएका छन्। वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ।
पूर्वी कङ्गोको इटुरी प्रान्तमा फैलिएको यो प्रकोप रुवान्डा समर्थित एम२३ विद्रोही समूहको प्रभाव रहेको क्षेत्रमा देखिएपछि नियन्त्रण प्रयास थप जटिल बनेको छ। अत्यधिक जनघनत्व भएको गोमा सहरमा पनि सङ्क्रमण पुष्टि भएपछि क्षेत्रीय जोखिम बढेको स्वास्थ्य निकायहरूले बताएका छन्।
कङ्गोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका अनुसार सङ्क्रमित एक महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन्, जसमा पछि गोमामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अधिकारीहरूका अनुसार यो प्रकोप ‘बुन्डिबुग्यो’ प्रकारको इबोला हो, जसको मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्छ। यस प्रकारको भाइरसविरुद्ध हालसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन।
विश्व स्वास्थ्य सङ्गठनले अहिले दोस्रो उच्च सतर्कता लागू गरेको छ भने ‘डाक्टर्स विदआउट बोर्डर्स’ (एमएसएफ) ले स्थिति “अत्यन्त चिन्ताजनक” भएको बताउँदै आपतकालीन स्वास्थ्य प्रतिक्रिया विस्तार गरिरहेको छ।
छिमेकी युगान्डामा पनि एक सङ्क्रमितको मृत्यु भइसकेको छ भने संक्रमण फैलिन सक्ने जोखिमका कारण धार्मिक तीर्थयात्रा कार्यक्रमहरू स्थगित गरिएको छ।
इबोला भाइरस संक्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ। यसको इन्क्युबेशन अवधि २१ दिनसम्म हुन सक्छ र प्रारम्भिक लक्षणमा उच्च ज्वरो, कमजोरी, बान्ता तथा गम्भीर अवस्थामा रक्तस्राव र अंग विफलता देखिन्छ।
कङ्गोमा कमजोर पूर्वाधार, दुर्गम भूभाग र सुरक्षा चुनौतीका कारण नियन्त्रण प्रयास कठिन बनेको छ। स्वास्थ्य विज्ञहरूले यो प्रकोप स्थानीय मात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वास्थ्य जोखिममा रूपान्तरण हुन सक्ने चेतावनी दिएका छन्।