इस्लामाबादमा अमेरिका–इरान वार्ता तयारी, तनावबीच कडा सुरक्षा व्यवस्था
इस्लामाबाद — ११–१२ अप्रिलको असफल वार्तापछि इरान र संयुक्त राज्य अमेरिका बीच दोस्रो चरणको शान्ति वार्ता पाकिस्तानको राजधानी इस्लामाबाद मा हुने तयारी भइरहेको छ।
२२ अप्रिलमा युद्धविराम सकिँदै गर्दा हुने भनिएको वार्तालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप तीव्र बनेका छन्। इरानले अमेरिकामाथि अव्यवहारिक सर्त, बारम्बार अडान परिवर्तन र नाकाबन्दीमार्फत सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी नौसेनाले इरानी जहाज नियन्त्रणमा लिएपछि तनाव झनै बढेको छ। इरानी पक्षले अमेरिकाको धम्कीपूर्ण व्यवहारले वार्ताको वातावरण बिगारेको दाबी गरेको छ।
वार्ताको सम्भावित स्थल इस्लामाबादको ‘रेड जोन’ क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। संसद, सर्वोच्च अदालत र विदेशी दूतावास रहेको क्षेत्रमा ट्राफिक नियन्त्रण र सुरक्षा सतर्कता बढाइएको छ।
यसअघि वार्ता भएका सेरेना होटल र म्यारियट होटल खाली गरिनुका साथै सुरक्षाका लागि तयारी अवस्थामा राखिएको छ।
हालसम्म वार्ता हुने वा नहुने विषयमा स्पष्टता नआए पनि क्षेत्रीय तनाव र कूटनीतिक अन्योल बढ्दै गएको छ।