निर्वाचनसम्बन्धी राससको विस्तृत प्रतिवेदन आयोगलाई हस्तान्तरण
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी समाचार सामग्री समेटिएको प्रतिवेदन राष्ट्रिय समाचार समिति (रासस)ले निर्वाचन आयोगसमक्ष प्रस्तुत गरेको छ।
राससका अध्यक्ष उदयबहादुर रानामगरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। एक हजार १२८ पृष्ठको प्रतिवेदनमा विभिन्न भाषामा सम्प्रेषित समाचार, अन्तर्वार्ता, तस्बिर तथा श्रव्य–दृश्य सामग्री समेटिएको छ।
राससले निर्वाचनलाई लक्षित गरी छुट्टै डेस्क स्थापना गरेर समाचार सम्प्रेषण गरेको थियो भने निर्वाचनअघि ‘काउन्टडाउन’ अभियान समेत सञ्चालन गरेको जनाएको छ।
निर्वाचन आयोगसँगको समन्वयमा राससले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा आयोग र राससका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।