सेयर लगानी विवादबारे गृहमन्त्री गुरूङको स्पष्टीकरण, आरोप तथ्यहीन दाबी
काठमाडौँ — गृहमन्त्री सुधन गुरूङ ले आफ्नो नाम जोडेर उठाइएको सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण दिएका छन्। ‘२५ लाख रुपैयाँको सेयर लुकाइएको’ भन्ने आरोप तथ्यहीन रहेको उनले बताएका छन्।
मन्त्री गुरूङका अनुसार आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको विवरण सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिसकेका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो मा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उनले स्पष्ट पारे।
उनले मन्त्री बन्नुअघि गरिएको लगानीलाई अनावश्यक रूपमा विवादित बनाइएको टिप्पणी गर्दै सेयर लगानी आफैँमा गैरकानुनी नभएको बताए। “सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको छ,” उनले भने।
गुरूङका अनुसार लगानीका लागि प्रयोग गरिएको रकम ऋणमार्फत जुटाइएको हो, जसको पुष्टि २०८० भदौ २९ गतेको लिखित तमसुक तथा बैंक अभिलेखबाट हुने उनले दाबी गरेका छन्।
विवादमा जोडिएका दीपक भट्ट सँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर खरिद गर्नु साझेदारी नभएको स्पष्ट पारे।
‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई सम्पत्ति शुद्धीकरण विभाग रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढिरहेको उनले बताए।
मन्त्री गुरूङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।