अवैध रकम असुली प्रकरण : मोरङ कारागारका कर्मचारीसहित थप तीन पक्राउ
मोरङ कारागारका कैदीबन्दीबाट अवैध रकम असुली गरेको आरोपमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीले हिजो मुख्य आरोपी अभिषेक गिरीलाई पक्राउ गरेको थियो ।
आइतबार पक्राउ पर्नेमा जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचन्द्र यादवसहित तीन जना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कारागारभित्र तरकारी आपूर्तिकर्ता विजय कामत र अभिषेक गिरीका सहयोगी दीपक कार्की पनि छन् ।
गिरीले कारागारको मेसका लागि तरकारी लैजाने व्यक्तिहरूलाई प्रयोग गरेर भित्रबाट नगद बाहिर निकाल्ने गरेको रहस्य खुलेको छ । ‘मेसका लागि तरकारी लिएर भित्र जानेहरू मार्फत गिरीले कैदीबन्दीबाट सङ्कलित रकम बाहिर पठाउने गरेको भेटिएको छ । अहिले हामी गलैँचा र मुडा बिक्रीबाट हुने आम्दानीका विषयमा पनि सूक्ष्म अनुसन्धान गरिरहेका छौँ,’ सुरक्षा स्रोतले भन्यो ।
गिरीमाथि कारागारका कैदीबन्दीले पाउने सरकारी सुविधा र उनीहरूको श्रमको कमाइ समेत जबरजस्ती असुल्ने गरेको आरोप छ । हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँका दरले सिधा भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।
यसबाहेक सरकारले प्रति कैदी वार्षिक रूपमा जाडो र गर्मीको लुगाका लागि २५–२५ सय गरी कुल ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । कारागारभित्र करिब ५ सय जनाले मुढा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको आम्दानी र सरकारी भत्तासमेत गिरीले तरकारी पुर्याउनेहरू मार्फत ‘क्यास’ संकलन गर्न लगाएर लिने गरेको सुरक्षा स्रोतको दाबी छ ।
यसै प्रकरणलाई लिएर प्रहरीले शनिबार नै कारागारका नाइके राकेश यादवसँग समेत बयान लिएको छ । कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गरेको सूचनाका आधारमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।