रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना निवर्तमान अध्यक्ष आङ बाबु राईविरुद्ध कारबाहीका लागि काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा सिफारिस गरेको छ ।
सहकारीमा प्राप्त पीडितको उजुरीको आधारमा सहकारीको सञ्चालक समिति बैठक बसेर कारबाहीको सिफारिसका लागि निर्णय गरेको वर्तमान अध्यक्ष इन्द्रकुमार राईले जानकारी दिए ।
निवर्तमान अध्यक्ष राईले महिला बचतकर्ताहरूको रकम ठगी गर्नुका साथै हिंसात्मक गतिविधि र मानसिक यातना दिएको आरोप लगाउँदै सहकारीको सञ्चालक समिति बैठकले कारबाही गर्न पत्राचार गरेको थियो ।
सहकारीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष राईउपर हदैसम्मको कारबाही गर्न र ठगी गरिएको रकम असुल उपर गराउनका लागि नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग र काठमाडौँ महानगरपालिकाको सहकारी विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।