खानेपानी उपभोक्ता समितिका लागि क्षमता विकास तालिम सुरु
काठमाडौँ — राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रम (UN-Habitat) को संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरूका लागि क्षमता विकास तालिम सुरु गरिएको छ।
आजदेखि सुरु भएको उक्त तीन दिने तालिम दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिहरूलाई सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ।
तालिममा देशभरका विभिन्न स्थानमा सञ्चालित खानेपानी उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसहित २४ वटा संस्थाबाट ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार तालिमले स्थानीय स्तरमा खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ।
तालिममा राष्ट्रिय साना सहकारी महासङ्घका अध्यक्ष खेम ओली, नगरविकास कोषका सुवासराज पन्त, खानेपानी मन्त्रालयका योगेन्द्र चित्रकार र खानेपानी विभागका सुरत बम लगायतका विज्ञ तथा प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।
कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ।