सिक्किममा मोदीद्वारा ४ हजार करोड भारुका विकास आयोजना उद्घाटन
नरेन्द्र मोदीले सिक्किम भ्रमणका क्रममा करिब ४ हजार करोड भारतीय रुपैयाँ बराबरका विकास आयोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्। सिक्किम भारतमा गाभिएको ५०औँ वार्षिकोत्सवका अवसरमा गान्तोकस्थित पाल्जोर रंगशालामा आयोजित कार्यक्रममा ती परियोजनाहरू सुरु गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सिक्किम लाई “पूर्वको स्वर्ग” भन्दै कनेक्टिभिटी र पूर्वाधार विकास आफ्नो सरकारको प्राथमिकता भएको बताए। उनले पूर्वोत्तर क्षेत्रमा ६ वटा नयाँ क्रिकेट एकेडेमी स्थापना गर्ने घोषणा समेत गरे।
मोदीले पर्यटन प्रवर्द्धन र ‘भोकल फर लोकल’ अभियानलाई जोड दिँदै देशभरका नागरिकलाई सिक्किम भ्रमण र स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरे। साथै, आयुष्मान भारत योजना अन्तर्गत गरिब तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जानकारी पनि दिए।
दुईदिने भ्रमणका क्रममा उनले स्थानीय युवाहरूसँग फुटबल खेल्दै अनुभव साझा गरेका थिए। कार्यक्रममा पूर्वोत्तर क्षेत्रलाई ‘अष्टलक्ष्मी’ को संज्ञा दिँदै उनले विकास परियोजनाले नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।