त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे सात घण्टा बन्द हुने
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ ४ गतेसम्म रातिको समयमा दैनिक साढे सात घण्टा बन्द हुने भएको छ।
विमानस्थल कार्यालयका अनुसार पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोक्ने निर्णय गरिएको हो।
विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग छेउको ट्याक्सीवेमा भइरहेको निर्माण कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन रातको समयमा उडान सञ्चालन रोकिएको हो।
कार्यालयले सुरक्षालाई ध्यानमा राख्दै निर्माण कार्य सहज रूपमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।
विमानस्थल बन्द हुने समयका कारण उडान सञ्चालनमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न हवाई सेवा प्रदायकहरूलाई आवश्यकताअनुसार उडान तथा अवतरणको तालिका पुनःनिर्धारण गर्न समेत आग्रह गरिएको छ।
निर्माण कार्य सम्पन्न भएपछि विमानस्थलको सञ्चालन क्षमता र सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।