लाइसेन्स २४ घण्टाभित्र छपाइ गर्ने व्यवस्था लागू, असार मसान्तभित्र सबै बैकलग सक्ने लक्ष्य
काभ्रेपलाञ्चोक, पनौती — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउने निर्देशन दिएका छन्। काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणपछि उनले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गर्ने व्यवस्था शुक्रबारदेखि लागू भएको घोषणा गरे।
मन्त्री तिमिल्सिनाले लामो समयदेखि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छपाइ सक्ने लक्ष्य रहेको बताए।
“अब सम्भव भएसम्म काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्,” उनले भने, “लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अब अन्त्य भएको छ।”
निरीक्षणका क्रममा उनले अर्बौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहनु दुःखद भएको भन्दै ती मेसिनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले पहल सुरु गरेको जानकारी दिए। केन्द्रमा रहेका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण अब प्रभावकारी रूपमा उपयोग गरिने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री वातावरणमा काम गर्न केन्द्रलाई निर्देशन पनि दिएका छन्। साथै, देशभरको इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको दाबी गरे।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता संवेदनशील सामग्री समेत यही केन्द्रबाट छाप्न सकिने गरी क्षमता विस्तार भइरहेको छ।
उनका अनुसार हाल केन्द्रले दैनिक करिब ४० हजार थान लाइसेन्स छापिरहेको छ। वैशाख १२ गतेभित्र थप १२ लाख थान लाइसेन्स छापिने र बाँकी १७ लाख थान असार मसान्तभित्र छपाइ सक्ने योजना रहेको छ।
यो व्यवस्था लागू भएपछि लाइसेन्स वितरणमा देखिँदै आएको ढिलाइ उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।