खोला किनारका सुकुम्बासी बस्ती स्थानान्तरणको तयारी, मानवीय समाधानमा जोड
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीलाई सुरक्षित स्थानमा मानवीय ढंगले स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने र ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे। उनले यस्तो समस्यालाई अब थाती नराखी दीर्घकालीन समाधानतर्फ अघि बढ्न आवश्यक रहेकोमा जोड दिए।
प्रधानमन्त्री शाहका अनुसार खोला किनारमा बसोबासका कारण डुबानको जोखिम मात्र होइन, ढल निकास प्रणालीमा समेत अवरोध सिर्जना भइरहेको छ, जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको छ।
थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी सुरक्षित स्थानमा सारिने उनले स्पष्ट पारे। साथै, वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर समस्या समाधान गरिने र आवश्यक प्रक्रिया पूरा गरी देशभरका वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिएका छन्।
सरकारले सुकुम्बासी व्यवस्थापनलाई प्राथमिक योजनाका रूपमा अघि बढाएको उल्लेख गर्दै उनले यसलाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।