देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण विभिन्न क्षेत्रमा मौसममा परिवर्तन आएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित अधिकांश हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित देशका हिमाली भागमा बदली रहनेछ। साथै, पहाडी भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि हिमाली क्षेत्रमा बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कोशी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले वर्षा, हिमपात तथा हुरीको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।