धान दिवसका अवसरमा दही–चिउरा खाएर मनाइँदै असार १५
प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ गर्दै र दही–चिउरा खाएर उल्लासपूर्वक मनाइँदैछ। कृषकहरू खेतमा व्यस्त रहेर धान रोप्दै छन् भने अन्य पेसा–व्यवसायमा आबद्ध नेपालीले पनि दही–चिउरा खाएर यस पर्वको महत्वलाई स्मरण गरिरहेका छन्।
कडा परिश्रमपछि शक्ति र ऊर्जा प्राप्त हुने तथा शरीरमा शीतलता कायम रहने विश्वासका साथ किसानले असार १५ मा दही–चिउरा खाने परम्परा रहिआएको छ। नेपाली समाजमा असार १५ लाई दही–चिउरा खाने सांस्कृतिक पर्वका रूपमा समेत लिने गरिन्छ।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, विदेश जाँदा वा अन्य महत्वपूर्ण कार्यअघि दही–अक्षता लगाउने र सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा अझै कायम छ। दही खाएर यात्रा गर्दा साइत पर्ने जनविश्वास पनि रहिआएको छ।
स्वास्थ्यका दृष्टिले पनि दही निकै लाभदायक मानिन्छ। आयुर्वेदमा भोजनपछि दहीबाट बनेको मोही पिउनु स्वास्थ्यका लागि उपयोगी हुने उल्लेख गरिएको छ। दहीले पाचन शक्ति बढाउनुका साथै पखालाजस्ता समस्यामा पनि लाभदायक हुने विश्वास गरिन्छ।
नेपालमा राष्ट्रिय धान दिवस विसं २०६२ असार १५ गतेदेखि औपचारिक रूपमा मनाउन थालिएको हो। यसअघि विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णयमार्फत धान दिवस मनाउने व्यवस्था गरिएको थियो। कृषिप्रधान मुलुक नेपालमा अधिकांश नागरिकको मुख्य पेसा कृषि भएकाले धान दिवसको विशेष महत्व रहेको छ।
असार महिना किसानका लागि वर्षभरको खाद्यान्न उत्पादनको आधार तयार गर्ने समय हो। आजका दिन खेतमा हिलो खेल्दै असारे भाका र लोकदोहोरी गाएर धान रोप्ने परम्पराले गाउँघरमा विशेष रौनक थप्ने गरेको छ।
यद्यपि, यस वर्ष असारको मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा नहुँदा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा रासायनिक मलको अभाव रहेको किसानहरूको गुनासो रहे पनि कृषि, वन तथा वातावरण मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।