क्यानडाको ऐतिहासिक जित, विश्वकपको अन्तिम १६ मा पहिलो पटक प्रवेश
असार १५ — क्यानडाले फिफा विश्वकपमा पहिलो पटक नकआउट चरणको खेल जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। गएराति भएको प्रतिस्पर्धात्मक खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो।
फिफा विश्वकप अन्तर्गत भएको खेलमा क्यानडाको जितमा स्टेफन युस्टाकियो नायक बने। उनले खेलको पहिलो हाफमै गरेको एकमात्र गोल नै निर्णायक सावित भयो।
खेलभरि दक्षिण अफ्रिकाले बराबरी गर्ने प्रयास गरे पनि क्यानडाको सुदृढ रक्षापंक्ति र योजनाबद्ध रणनीतिका कारण सफल हुन सकेन। आक्रमणका केही अवसर पाए पनि फिनिसिङ कमजोर हुँदा उसले गोल फर्काउन सकेन।
यो जितसँगै क्यानडाभरि उत्साहको माहोल छाएको छ। देशका विभिन्न ठाउँमा समर्थकहरूले ऐतिहासिक उपलब्धिलाई भव्य रूपमा उत्सवका साथ मनाइरहेका छन्।
आगामी खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भोलि हुने पहिलो खेलमा ब्राजिलले जापानको सामना गर्नेछ भने अर्को खेलमा नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्।