कञ्चनपुरको विवाह समारोहमा झडप, १८ वर्षीय युवकको हत्या
कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहका क्रममा भएको झडपमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार १८ वर्षीय उज्वल सायरमाथि गएराति साढे १ बजेतिर झगडाका क्रममा धारिलो हतियार प्रहार भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार छातीमा गम्भीर चोट लागेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको परिचय भने हाल अनुसन्धानको कारणले गोप्य राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।